नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर गरे।
शनिबार पत्रकार रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २÷४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको समेत उनले स्मरण गराए।
‘नेपालको राजनीतिक कस्तो भयो भने तीनजना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो । कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आइतबार फलानोले झुकाउनु भएको थियो, सोमबार अर्कोले ठहरै पार्नुभयो,’ उनले भने, ‘अस्ती सरकारलाई भोट किन हालेको होला ? तीनजना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लव जस्तो ।’
महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्नेमा जोड दिए ।